रोशन ज्ञवाली
सामाजिक सञ्जाल, साथीभाई भेटघाट अनि घुमघाम अनि मनोरञ्जन गर्ने उमेरमा देशका कुना कुनामा रही आएका शैक्षिक समस्यालाई मध्यनजर गरेर थुप्रै समाधानका बाटो अपनाएर संस्था स्थापनाको छोटो समयमा नै विभिन्न क्रियाकलाप गरी समाजसेवाको उत्कृष्ठ उदाहरण दिन सफल युवाको समूह हो– विकल्पका लागि आवाज नेपाल ।
आफूसँग छुटपुट खर्चका रकम मात्र हुँदा होस् वा पढाईको खर्चमा लाग्ने रकम छुट्याएर होस् यो संस्थाले देशका विभिन्न स्थानमा गरेका क्रियाकलाप हेर्दा लाग्छ यो समूहमा एउटा छुटै जोश छ अनि छुटै विशेषता पनि ।
वि.सं. २०७४ साउन २३ गतेका दिन काठमाडौं जिल्ला प्रशासनबाट ६५ सदस्यता नं. तथा समाज कल्याण परिषद्बाट ४६२६६ सदस्यता नं. प्राप्त यो संस्थाले शुरुवात देखि नै बालशिक्षा र हस्तकला सामाग्रीलाई प्रोत्साहन गर्ने आफ्नो मुख्य उद्देश्य बनायो ।
समाजसेवामा लागेका मानिस हुन् वा संस्था भनिन्छ, यिनीहरु कुनै क्षेत्रमा सीमित हुँदैनन् । बस यही तथ्यको चरितार्थ परिभाषा हो– विकल्पका लागि आवाज नेपाल । विद्यार्थी उमेरमै संस्था स्थापना गरेको २ दिन पनि नबित्दै तराईको बाढीमा परेको मानिसमध्ये रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नंं ४ र ५ का करिव १२५ परिवारकै साहरा बन्यो विकल्पका लागि आवाज नेपाल । आफूसँग एक रुपैयाँ नहुँदा पनि लगातार एकहप्ता राहत संकलन गरेर भोका अनि सहारा गुमाएकाहरुको आवाज बन्यो यो संस्था ।
दुर्गम स्थानमा रहेका शैक्षिक समस्यालाई हल गर्ने काभ्रको डाँडापारी देखि विद्यार्थीलाई अध्यापनमा सजिलो पार्न ओखलढुंगाको सिद्धीचरण नगरपालिकामा पुस्तकालय खोल्ने जस्ता शैक्षिक क्रियाकलाप त्यति सहज थिएनन् । लगातारको संघर्ष, दृढ विश्वास, अनि सामूहिक कार्य नै यो संस्थाको सफलता बन्यो । अन्ततः ओखलढुंगामा सुविधायुक्त पुस्तकालय बन्यो अनि डाँडापारीमा अल्झिएका समस्या जिल्ला शिक्षा कार्यालयमा आइपुग्यो ।
हस्तकला सामाग्री बेचेर विद्यालय चलाइरहेको पोखराको स्यामरक विद्यालयका विद्यार्थीहरुमा एउटा छुटै अनुभूति मात्र गराएन यो संस्थाले विद्यार्थीलाई सिपमूलक तालिम पनि दियो । आज त्यहाँको बच्चाहरुले बनाएको हस्तकलाको सामाग्री हेर्दा वास्तवमै जो कसैलाई पनि यो संस्थाको खुलेरै प्रशंसा गर्न मन लाग्छ ।
यतिमात्र होइन संस्था स्थापनाको एक वर्ष वित्दा पनि कुनै संघ संस्थाबाट अनुदान नपाएको यो संस्थाले आखिर आफ्नै कमाइको थोरै हिस्सा छुट्याएर अस्तित्व गुमाइसकेको लामिसोती विद्यालयलाई आमूल परिवर्तन गरिदियो । स–साना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका पुस्तक दियो अनि विद्यालयलाई नयाँ आधार पनि ।
यसरी संस्था स्थापना देखि नै थुप्रै क्षेत्रमा अघि बढेको यो संस्था युवा वर्गमा एउटा जलनीय शुरुवात हो । विना अनुदान गर्न सकिने समाजसेवा र समाजले गैह्रसरकारी संस्थालाई हेर्ने नजर फेर्न सम्भव छ भने त्यो माध्यम हो विकल्पका लागि आवाज नेपाल ।