काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै नबुझ्नेहरुले व्यवसायीलाई विभिन्न आरोप लगाएर बद्नाम गरेको आरोप लगाएका छन् ।
‘सधैं व्यवसायीलाई मात्र दोष दिइन्छ यो राम्रो होइन, कमी कमजोरी भए सुधार्न तयार छौं तर जसले जे पनि भन्ने छुट कसैलाई छैन’ भण्डारीले भने ‘ हामी सरकारले बनाएको नीति , नियम मानेका छौं, सिस्टमविरुद्ध कुनै पनि काम भएको छैन तरपनि नराम्रो नजरले हेर्ने काम भएको छ ।’ भण्डारीले यातायात व्यवसायीले सरकारलाई राजश्व तिरेको तर सरकारबाट भनें केही पनि सुविधा नपाएको गुनासो गरेका छन् । साँघुरो बाटो, बिनाकारण ट्राफिकबाट पाउने दुःख, समयमा रुट इजाजत नपाउनुलगायतका समस्याले व्यवसायी मारमा परेको बताए ।
सरकारले सडक विस्तार गर्ने चासो नदेखाएको र सवारीको चाप बढी भएकाले दुर्घटना पनि बढ्दै गएको उनको भनाई छ । सरकारले नियमविपरित कतिपय सडकमा सानामात्र सवारी चलाउनुपर्ने भएपनि ठूला सवारीलाई इजाजत दिएकामा उनको आपत्ति छ ।
राजनीतिक आन्दोलन, विद्यार्थी आन्दोलनका साथै अन्य जुनसुकै घटनामा पनि सबैभन्दा पहिले यातायात व्यवसायी नै मारमा परेको उनको भनाई छ । ‘चारैतिरबाट हामीलाई नै तार्गेट गरिएको छ, यो गुनासो गर्ने ठाउँ पनि छैन’ उनले भने ‘ के हामीमात्र फटाहा हौं त? यो त होइन तर पनि किन बद्नाम गरिन्छ ?’ अधिकांश व्यवसायी बैंकको चर्को ऋणमा परेको तीतो यथार्थ भएको उनले सुनाए । ‘श्रीमतीका गहना र उनीहरुको सम्पत्ति ग्यारेण्टी राखेर गाडी चलाएका छौं, न त सावाँ न त व्याजजस्तै भएको छ’ उनले भने ‘ हाम्रो विजोग कसैले बुझ्न चाहेको छैन, घर न घाटको भनेजस्तै भएको छ ।’
उनले व्यवसायीले सिन्डिकेट गरेको हल्ला तथ्यहीन भएको बताए । ‘आफैं नियम बनाएर मनपरी गरेको भए सिन्डिकेट लगाए भन्न मिल्थ्यो तर अरुको नियममा बसेका छौं, कसरी सिन्डिकेट भन्न मिल्छ र ?’ उनले भने ‘ इन्धनको मूल्य बढेपनि धेरै समयदेखि भाडा बढाएका छैनौं, थोरै बढाएपनि आलोचना होला भनेर पींडा सहेर नै बसेका छौं ।’