नयाँ संविधान पश्चात सम्पन्न भएको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नतिजाले वाम गठबन्धनलाई देशको समग्र नेतृत्व सुम्पेको छ। पछिल्लो २ दशक द्वन्दकालिन र संक्रमणकालिन अवस्था भोगेका हामी नेपाली, अब देश समृद्धि तर्फ उकालो लाग्ने कुरामा आशावादी छौँ। यसै क्रममा वाम गठबन्धन, नेपाली कांग्रेस, मधेसी दल, र भरखरै उदाउँदै गरेको विवेकशील साझा पार्टीप्रति लक्षित गर्दै आफ्नो मनभित्रको भावना प्रकट गर्दैछु।
वाम गठबन्धन
सम्पूर्ण नेपालीलाई नै आश्चर्यचकित तुल्याउने गरी चुनावको मुखमा घोषणा भएको वाम एकतालाई नेपाली जनताले अत्यन्तै सकारात्मक रुपमा लिएको चुनावी नतिजाले देखाएको छ। ५ वर्ष चल्ने स्थायी सरकार मात्र आयो भनेपनि देश उकालो लाग्छ भन्ने नेपाली जनता यथेस्ट संख्यामा छन्। विशेषगरी धेरै तटस्थ मतदाताहरु, जो अब एमालेको काम छैन वा अब माओवादीको काम छैन भन्ने जनमानस पनि गठबन्धन निर्माण भए पश्चात यो पटक त वामलाई नै भोट दिने हो भनेर बसेका थिए र दिए पनि।
वाम गठबन्धन प्रति सबै भन्दा ठूलो चिन्ता नै उनीहरु फुट्छ्न कि भन्ने हो। जगजाहेरै छ, नेपालको राजनीतिमा सत्ता प्रप्तिको लागि यस्ता गठबन्धन फुट्ने जुट्ने भइराखेका छन्। आन्तरिक अझ विशेषगरी बाह्य प्रभावमा परी पार्टी नै फुटेको नियतिबाट नेपालका लगभग कुनै ठूला साना दल अ्छुतो छैनन्। यो अवस्थामा पक्कै पनि वाम गठबन्धनमा तगारो हाल्न यस्ता शक्ति सक्रिय हुनेछन्। हरेक पार्टी भित्रकै केही प्रभावशाली व्यक्तिहरुलाई प्रयोग गर्दै नेपालमा कुनै पनि हालतमा स्थिरता हुन नदिने भनेर लागि परेका ती आन्तरिक र बाह्य शक्तिको अरबौँ रुपैँयाले सुसज्जित शक्तिशाली प्रहारहरु लाई निस्तेज पार्न यो गठबन्धनले आफ्नो मजबुतिलाई निकै नै बलियो बनउनु पर्छ।
देशका हरेक सरकारी अंगमा हुने व्यापक भ्रष्टाचारले जनता आजित बनेका छन्। देशलाई समृद्धि तर्फ उन्मुख गर्ने हो भने, सबै भन्दा पहिला विधिको शासन लागु गराउ। यसको प्रमुख खुड्किलो भनेको नै सरकार, सरकारी संयन्त्र र समाजलाई भ्रष्टाचार मुक्त बनाउने हो। देश डुबाउने माथिल्लो तहबाट हुने भ्रष्टाचार हो जुन जनताको दृष्टि र समझभन्दा धेरै टाढा हुन्छ। जनतालाई दुःख दिने तल्लो तहबाट हुने भ्रष्टाचार हो, जुन खुलेआम भइराखेको छ।
साँच्चिकै देशनै बनाउन वाम गठबन्धन निर्माण भएको हो भने, अब बन्ने प्रधानमन्त्री र मन्त्रीहरुले माथिल्लो तहको भ्रष्टाचारका बिउ उत्पादन गर्न बन्द गर। लामो समय देखी सत्ता प्राप्तिको सफल खेल खेलेर खारिएको त्यो दिमागलाई; अब न्यायलय, प्रहरी प्रशासन र अख्तियारलाई जिम्मेवार र स्वतन्त्र बनाउन तर्फ प्रयोग गर। हरेक जिल्लाका मालपोत कार्यलय र यातायात कार्यालयमा खुलेआम घुम्ने दलाल र तिनीसँग मिलेका कर्मचारी / हाकिमहरुलाई गिरफ्तार गर।
नातावाद र कृपावाद त्याग। तिम्रो संगठन भित्र रहेका सिद्द व्यक्तिहरु लालबाबु पण्डित, गोकर्ण बिष्ट, जनार्दन शर्मालाई महत्वपूर्ण मन्त्रालय दिएर जनतामा सकारात्मक सन्देश प्रवाह गर। यदि तिमीले संसदको पहिलो निर्णयको रुपमा भर्खरै संशोधन गरिएको विवेधकारी शिक्षा ऐनलाई खारेज गर्ने हिम्मत जुटाउन सक्यौ भने, आफ्ना केहि असक्षम शिक्षक कार्यकर्ताको स्वार्थ भन्दा माथि उठेर देशका लाखौँ विद्यार्थीहरूको भबिष्यलाई सम्मान गर्न सक्यौ भने, समस्त नेपाली जनताले गर्ने तिम्रो जयजयकारको गुञ्जन त्यहीबाट आरम्भ हुनेछ।