डा. गोविन्द केसीले सुरु गरे १६ औं अनशन, निकाले यस्तो विज्ञप्ति

5 महिना अगाडी

काठमाडौं । डाक्टर गोविन्द केसीले १५ औँ अनसनमा सरकारले गरेका सहमति कार्यानयन नगरेको भन्दै आजबाट १६ औं अनसन सुरु गरेका छन्।
नेपाल सरकारले गत साउन १० गते आफुँसँग गरेको सहमति पालना नगरेको भन्दै आजबाट इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा १६ औँ अनसन सुरु गरेका हुन्।

डा. केसीले आफुँसँग भएको सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन माग गर्दै आएका छन्।

६ वटा माग सहित डा केसीको प्रेस विज्ञप्ती  यस्तो छ ?
आदरणीय पत्रकार मित्रहरु
देशमा हाल व्याप्त कुशासनको अवस्था यहाँहरुलाई ज्ञात नै छ । देशका मन्त्री र प्रधानमन्त्रीलगायत शीर्षज्ञ राजनीतिज्ञहरु अरबौंको भ्रष्टाचार गर्न वा भ्रष्ट व्यक्तिलाई संरक्षण गर्नमा लिप्त छन् भने कर्मचारीहरुलाई बलिको बोका बनाएर राजनीतिज्ञहरुलाई क्लिन चिट दिने अभ्यास बसालिएको छ । देशमा हत्या र बलात्कारजस्ता अपराधहरु बढ्दो क्रममा छन् भने गृह मंत्रालय लगायत सिंगो सरकारी संरचना अपराधीलाई न्यायको कठघरामा ल्याउनको सट्टा फर्जी अपराधी बनाउँदै निर्दोषहरुलाई फसाउनमा अभ्यस्त भएको छ ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएका छौं । साम्यवादी पार्टीको दुई तिहाइ बहुमतको सरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर मुट्ठीभर माफियाहरुको स्वार्थ अनुसार कानुनै बनाउन अहिलेको लागीपरेको छ । ग्रामीण क्षेत्रमा बस्ने दुई तिहाइ जनताको हक हितभन्दा सरकारलाई सीमित माफियाहरुको स्वार्थ ठूलो लागेको छ ।

स्मरण रहोस्, जनताले सांसदहरुलाई मत दिंदा आफ्नो हितमा  काम गर्न भनेर दिएका हुन् । त्यसैले कानुन निर्माणजस्तो संवेदनशील काम गर्दा आम मानिसको हित केन्द्रमा हुनुपर्छ । चिकित्साजस्तो संवेदनशील प्राविधिक विषयमा जनप्रतिनिधिहरुलाई पर्याप्त ज्ञान नहुने भएकाले यससँग सम्बन्धित कानुनका बूंदा सुझाउनका लागि विज्ञहरु सामेल गरेर माथेमा उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । सोही कार्यदलको प्रतिवेदन अनुसार यस अगाडि दुई पल्ट  चिकित्सा शिक्षा अध्यादेश जारी भएको पनि थियो । पछिल्लो अध्यादेशलाई विस्थापित गरेर चिकित्सा शिक्षा ऐन बनाउने क्रममा माथेमा प्रतिवेदनले दिएका सुझावअनुकुल हुनुपर्छ भनेर यस अगाडि हामी झण्डै एक महिनाको अवधिसम्म १५ औं सत्याग्रह बसेका थियौं। त्यो सत्याग्रह टुंग्याउने क्रममा विधेयकमा कुन कुन बुँदा कसरी संशोधन गरेर जाने भन्ने सहमति सरकारसँग भएको थियो ।

तर विधेयक पारित गर्ने निर्णायक घडीमा आएर सरकार र सत्तारुढ पार्टीका नेताहरु तीन करोड जनताको स्वास्थ्यको पक्षमा नभई मुट्ठीभर माफियाहरुको स्वार्थमा काम गरेका छन् । यस अघि कुनै पनि हालतमा कार्यान्वयन गर्ने भनेर हामीसँग सम्झौता गरेका प्रधानमन्त्री समेत अहिले त्यस्ता निहित स्वार्थका अगाडि निरीह हुँदै आफ्नो प्रतिबद्धताबाट पछि हटेका छन् । सरकार स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनतिरे हैन कि सजिलोसित, थप क्षमता नभएकै विश्वविद्यालयबाट हतारहतार सम्बन्धन खुलाएर निजी मेडिकल कलेज चलाउँदै स्वास्थ्य र चिकित्सा क्षेत्रमा व्यापार गर्नेतिर उद्यत् छ । त्यसले राजनीतिज्ञहरुलाई आफूले आर्जेको अकुत कालो धनलाई सेतो बनाउन र अरु अरबौं रुपैयाँ कमाउन सम्भव बनाउला तर अबको दशौं वर्षपछि पनि दुरदराजमा नागरिकहरु सिटामोल र जीवन जल नपाएर छट्पटाउने अवस्था कायमै रहनेछ ।

संसारका जतिसुकै पुँजीवादी व्यवस्था भएका देशहरुमा समेत स्वास्थ्य सेवामा राज्यको मुख्य  भुमिका र जिम्मेवारी हुन्छ, स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्र व्यापारका लागि खूला छाडिंदैन । नेपालमा काठमाडौं र सीमित ठूला शहरहरुमा मात्रै स्वास्थ्य सेवा केन्द्रिकृत हुँदा अहिले देशको तीन चौथाइ जनसंख्या सुलभ विशेषज्ञ सेवाबाट वञ्चित छ । दुर्गमबाट उपचारका लागि हेलिकप्टर चढेर काठमाण्डौं धाउनुपर्ने बाध्यता छ । त्यो अवस्थाको अन्त गर्न अब देशभर न्यायोचित भौगोलिक वितरण हुने गरी सरकारी मेडिकल कलेज र ठूला अस्पतालहरु खोल्ने माग हामीले बारम्बार राख्दै आएका छौं र सरकारले बारम्बार हामीसँग त्यस्तो सम्झौता पनि गरेको छ । तर सरकारको रुचि अहिले पनि स्वास्थ्य सेवा बिस्तार नभई शहरमै निजी मेडिकल कलेज खोलेर व्यापार गर्नमै छ । माफियाहरुले मेडिकल शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएपछि अहिले कृषि लगायत प्राविधिक शिक्षाका अन्य क्षेत्रहरुसमेत कब्जा गर्न थालेका छन् । साम्यवादी पार्टीको सरकारको ध्यान कसरी शिक्षाको गुणस्तर बढाउने र नागरिकलाई सेवा दिनेभन्दा कसरी माफियाहरुलाई धनी बनाउने भन्नेमा छ ।

फलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेको दशक पुग्न लाग्दा पनि एमबीबीएस पढाइ शुरु हुन सकेको छैन भने अन्यत्र सरकारले झारा टार्ने काम मात्रै गरेको छ । अहिले निजी मेडिकल कलेजको संख्या १८ पुगिसकेको छ भने एमबीबीएस पढाउने सरकारी शिक्षण संस्थाहरु ३ वटा मात्रै छन् । देशको सम्पन्न ५ प्रतिशत जनसंख्याका लागि महंगो शुल्क लाग्ने १६०० भन्दा बढी सिटहरु उपलब्ध छन् भने बाँकी ९५ प्रतिशतबाट आउने विद्यार्थीहरुका लागि सरकारी र छात्रवृत्तिका ४०० हाराहारी सिटहरु मात्रै छन् ।

त्यसैले काठमाडौं बाहिर धेरैभन्दा धेरै सरकारी मेडिकल कलेज खोलेर विपन्न तथा मध्यम वर्गका विद्यार्थीहरुलाई ठूलो संख्यामा चिकित्सक बनाएर दुरदराजसम्म परिचालन गर्नुको विकल्प छैन । हामीले यस्तो माग गरिरहँदा सुधारमा भाँजो हाल्न चाहनेहरुले वर्षेनी हजारौं विद्यार्थी बाहिर गएर पढेकाले बाहिर जाने पैसा रोक्न धमाधम निजी मेडिकल कलेज खोल्नुपर्ने दाबी गरेका छन् । जबकि हाम्रै अभियानका कारणले बाहिर जानका लागि समेत नेपालको प्रवेश परीक्षा अनिवार्य गर्नासाथ चिकित्सा विषयका लागि वर्षेनी बाहिर जाने विद्यार्थीहरुको संख्या झण्डै ७५–८० प्रतिशतले घटेर ३०० को हाराहारीमा आएको छ । अयोग्य विद्यार्थी डिग्री लिएर आउने र कमसल सेवा दिने अवस्था धेरै हदसम्म कम भएको छ । अहिले नेपालमै भएका निजी मेडिकल कलेजहरुले ठगी र कालोबजारी नगरेर सरकारले तोकेकै शुल्क लिने हो भने बाहिर जाने विद्यार्थीको संख्या झनै घट्ने निश्चित छ ।

अहिले देशमा जुन भद्रगोल, अराजकता र दण्डहीनता छ, त्यसको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्छ । प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण हो । यसैबीच द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधहरुमा उन्मुक्तिको व्यवस्था गर्न लागिएको प्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ ।

यो अवस्थामा हामीले बारम्बार सरकार र सांसदहरुलाई विगतको सम्झौता स्मरण गराउँदै सो अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्न अनुरोध गर्दा त्यस विपरीत माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकोमा त्यसप्रति कडा आपत्ति जनाउँदै निम्न मागहरुसहित आज पौष २५ गते अपरान्ह ५ बजेदेखि सत्याग्रह शुरु गरेको जानकारी गराउन चाहन्छु ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter