कानपुर, मङ्सिर ५ । भारतको उत्तर प्रदेशको कानपुर सहर नजिकै आज बिहान रेल दुर्घटना भएको छ । कानपुरबाट एक किलोमिटरको दूरीमा रहेको स्थानमा भएको उक्त दुर्घटनामा परी कम्तीमा ९६ जनाको ज्यान गएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार कानपुर सहरको नजिकै इन्डोर–पटना एक्सप्रेसको रेल आज बिहान तीन बजेर १५ मिनेटमा दुर्घटनामा भएको हो ।
दुर्घटनामा परी दुई सयभन्दा बढी मानिसहरु घाइते भएको र अहिले उद्धारकार्य जारी रहेको बताइएको छ । भारतको लागि आज भएको घटना पाँच वर्षयताकै सबैभन्दा नराम्रो घटना हो । यो दुर्घटनामा परी अझै कयौं मानिसहरु च्यापिएको आशंका गरिएको छ ।
प्रहरीले बताएअनुसार घाइते भएका मानिसहरुमध्ये ७६ जना मानिसहरु गम्भीर घाइते रहेका छन् भने थप एक सय ५० जना मानिसहरु सामान्य घाइते भएका छन् । उद्धारको लागि सरकारले ३० भन्दा बढी एम्बुलेन्स परिचालन गरेको छ ।
अहिलेसम्म रेलको दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परेको रेल मध्य प्रदेशदेखि विहारको पटना जाँदै गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतक परिवारलाई दुई लाख र गम्भीर घाइतेलाई ५० हजार भारतीय रुपैंया उपलब्ध गराइने घोषणा पनि गरेका छन् । एजेन्सी