काठमाडौं । लकडाउन अवधिभर इन्टरनेट नकाटिने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्न नपाउने भएका हुन् ।
प्राधिकरणले हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्ने बताउँदै केही सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो प्राप्त भएकोले यस्तो निर्देशन जारी गर्नुपरेको जनाएको छ ।
एनटीएले ती सेवा प्रदायकहरुलाई सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न भनेको छ । तर अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था भए पनि भुक्तानी गर्न असमर्थ भएका ग्राहकहरुको हकमा इन्टरनेट सेवा लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने व्यवस्था गर्न समेत प्राधिकरणले भनेको हो ।
साथै, लकडाउनपछि त्यस्तो शुल्क भुक्तानी गर्दा कुनै विलम्ब शुल्क लिन नपाइने समेत प्राधिकरणको निर्देशनमा उल्लेख गरिएको छ ।