धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिनकुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्मेका हुन् सरोज थापा । गाउँकै महेन्द्रोदय स्कुलबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौं आएका उनी गाउँमा सबैका प्यारा थिए । पढाइमा जहिले पनि प्रथम, द्वितीय हुने उनलाई शिक्षक शिक्षिकाहरुले धेरै माया गर्दथे ।
पढाइमा मात्र सफल होइन उनले गाउँमा रहँदा समाजसेवा पनि गरे ।कहिले आफ्नै हातले मुर्ती कुदेर मन्दिर बनाए त कहिले के गरे । सीपका धनी भएकाले उनलाई खालि बस्न पनि मन लाग्दैनथ्यो । स्कुले जीवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल्ड पनि जिते । उनको त्यतिबेलादेखि चञ्चलता र सिर्जना अहिले विश्व चर्चित पेस्ट्री सेफका रुपमा स्थापित भएको छ । बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै उनलाई यो पेशामा आउन प्रेरित ग¥यो । २०५४ सालमा एस्एल्सी पूरा गर्नसाथ काठमाडौं छिरेका उनी सरस्वती बहुमुखी क्याम्पसमा रातीको सिफ्टमा भर्ना भए अनि उनको संघर्षका दिन सुरु भए । दिउँसो आफ्नै भिनाजुको पसलमा काम सघाउने र रातमा क्याम्पस पढ्ने गरेर उनले आइए सके र कालिमाटीको एक आइसक्रिम सपमा काम पाए । पर्यटन र होटल सम्वन्धीको नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पनि पूरा गरी सांग्रिला होटलमा ‘ईन्टर्नसीप’थाले । त्यहाँ काम गर्ने क्रममा एक फ्रान्सेली पाहुनाले उनको दक्षता देखेर निकै प्रसंशा गरे र तुरुन्तै उनले त्यहीँ स्थायी रुपमा जागिर पाए । यो नै उनको जीवनको उचाइको एउटा पहिलो बाटो थियो ।उनी यो दिन र घटनालाई अहिले पनि बेलाबेला सम्झन्छन् ।
उनी दाई (साहिलो बुबाको छोरा) रण बहादुर थापाको सहायताले पहिलो पटक वैदेशिक रोजगारीको रुपमा सयाम्स होटल अबुदाबी पुगे । उनले नेपालमा सिकेको सीप र आफ्नो क्षमतालाई भरपूर प्रयोग गरेर देखाए । उनी अझैपनि वैदेशिक यात्रामा नै छन् । उनको शालीनता, दक्षता, इमानदारिता र दक्ष लिडरसिपका कारण दर्जनभन्दा बढी पाँचतारे होटल र अबुदाबीदेखी युरोपका फ्रान्स लगायत कैयौं तारे होटलहरुमा आफ्नो दक्षता देखाउने थप अवसर पाए । यही पेशाबाट उनले पाएका दर्जनांै गोल्ड मेडल र प्रमाणपत्रले अहिले उनको कलंकीको घरका कोठा सजिएका छन् । उनको दक्षताको कदर गर्दै पेशागत संस्था वल्ड सेफ एसोसिएसन सोसाइटीले आजीवन सदस्यता दिएको छ । यो कदर पाएपछि उनी हरेक वर्ष युरोपका देशहरु जानैपर्ने हुन्छ । यो सफलता हासिल गर्नुको पछाडि जिवन संगिनी बुनु खड्काको विशेष भूमिका रहेको उनले बताए । खड्काले पनि सरोजको कामकै सिलसिलामा धेरै देश घुम्ने अवसर पाएकी छिन् । उनले पाएको सफलताको विषयमा काष्ठमण्डप डेलीले गरेको समसामयिक कुराकानी–
अहिले तपाईं कुन होटलमा आवद्ध हुनुहुन्छ र तपाईंको जिम्मेवारी के हो ?
अहिले म म्यारिएट होटल इन्टरनेशनल पेस्ट्री सेफको रुपमा काम गर्दैछु । मेरो जिम्मेवारी भनेको क्वालिटी प्रडक्ट, कस्ट कन्ट्रोल, नयाँ मेनु सेटअपसँगै रेसेपी बनाउने, बेकरी र पेस्ट्री टिम सम्हाल्ने, डिउटी सिफ्ट हेर्ने, क्वालिटी चेक गर्ने हो । त्यस्तै फूड कस्ट सन्तुलन हेर्नु, नयाँ स्टाफलाई तालिम दिनु , पुरानालाई अपग्रेट गर्नु, नयाँ नयाँ प्रोडक्टको इनोभेसन गर्नु अर्को जिम्मेवारी हो । फुड फेस्टिभल, ईभेन्ट र विभिन्न देशमा हुने फुड प्रतियोगिता समावेश हुनुको साथै आफ्ना टिममा राम्रा राम्रा कामदारलाई छान्ने जस्ता जिम्मेवारी पनि सम्हालेको छु । गेस्टको कम्प्लेन सल्भ गर्ने जस्ता गहन जिम्मेवारी पनि मैले नै हेर्नुपर्छ । एक्जुकेटिभ सेफ र मेनेजमेन्टसँग को–अर्डिनेसन गरेर काम गर्नुपर्छ । कुनैकुनै कम्पनी या होटलमा त होटलको साहुसँग बसेर नै छलफल गर्नुपर्ने हुन्छ । जसका कारण होटल राम्रो हुन्छ भने सेवाग्राहीलाई सन्तुष्ट पार्न पनि सकिन्छ ।
तपाईंले त नेपालमा राम्रो होटलमा पनि काम पाउनुभएको थियो, किन एक्कासी विदेशिनुभयो ?
केही नयाँ कुरा सिकौ र बुबालाई फाइनेन्सेली सपोर्ट गरेर राजधानीमा एउटा घर बनाउनुपर्छ भन्ने मनसायले म विदेशिएको हुँ । मेहनत र परिश्रम गरे अनुसार सफल पनि भएँ र बुबाको ईच्छा पूरा गरेर छोडें । गाउँमा जन्मेको हुर्केको हुनाले शहरमा अलिक सहज हुन्छ भनी घर बनाउने उद्येश्य थियो जुन् पूरा भएकोमा खुशी लागेको छ । काठमाडौंका कलंकीमा घर बनाएर स्थायी रुपमा परिवारलाई त्यहीँ राखेको छु र कहिलेकाँही म पनि बस्छु, कामको सिलसिलामा धेरैजसो समय त विदेशमा नै बित्छ । घर बस्न पाउँदा साह्रै आनन्द लाग्छ । आफू जन्मेको गाउँ र दुःखी असाहयहरुलाई केही हिस्सा सहयोग गर्न पाएको छु त्यसमा पनि म खुशी छु ।
नेपाल र विदेशमा काम गर्ने शैलीमा के भिन्नता पाउनुभयो ?
विदेशमा विभिन्न देशका कामदार हुने हुँदा धेरै सिक्ने मौका पाईन्छ र सिकाइन्छ पनि । हरेक देशको आफ्नै कुजिन र त्यसको आ–आफ्नै विशेषता हुने हुँदा धेरै कुराहरु एक आपसमा शेयर गर्ने मौका पाईन्छ । विदेशमा पेस्ट्रीलाई चाहिने सम्पूर्ण समान उपलब्ध हुने हुँदा क्वालिटी उत्पादन हुन्छ त्यसमा पनि यो पेस्ट्री बेकरी भन्ने नै विदेशी भएका कारण नेपाल र विदेशमा धेरै भिन्न हुन्छ ।
तपाईं त एक जिम्मेवार पदमा रहेर काम गर्नुभएको छ, भिन्नभिन्न देशका कामदारलाई काम लगाउन कत्तिको गाह्रो छ ?
गाह्रो त हुन्छ नि, एउटै घरको दाजुभाईपनि मिलेर सँगै बसेका कमै हुन्छन् । अझ त्यसमा पनि कुन् देशका को को ती सबैको विचार र भावना पनि एक हुँदैन । सँगै काम गर्दा केही भिन्नता हुन्छ तर मैले सकेसम्म म्यानेज गरेको छु ।विभिन्न भाषा, कल्चरबाट आएका स्टाफहरुको फरक सोचाई र क्षमता हुन्छ तसर्थ उनीहरुको मनोविज्ञान बुझेर काम गर्नुपर्छ र कार्य विभाजन पनि गरिदिनुपर्छ । कसैलाई देश, जात र रङका आधारमा भेदभाव नगरी सबैलाई समान व्यवहार गर्न पनि सिकेको छु ।
विदेश पेस्ट्री सेफको जिम्मेवारीहरु के के हुँदा रहेछन्? त्यति ठूलो टिमलाई कसरी समान रुपमा व्यवहार गर्न सम्भव हुन्छ र ?
विदेश होस् या स्वदेश जहाँ भएता पनि इन्टरनेशनल फ्रेन्चाइज होटलहरुमा एउटै हो । नेपालको तुलनामा विदेशमा धेरै देशका कामदार साथमा लिएर काम गर्नुपर्छ । हामीले सही रेसेपी फलो गरेको छ कि छैन, खानाको क्वालिटी राम्रो छ कि छैन भनेर बेलाबेलामा टेस्ट गर्ने, खानाको स्तर सधैं एकनासको राख्न बेलाबेलामा तालिम दिने, फुड कस्ट बजेट अनुसार क्वालिटीलाई असर नपर्ने गरी सन्तुलनमा राख्नेजस्ता विविध काम हेर्ने हो । एउटा सच्चा ‘लिडरसीप’ भन्नाले सबैलाई सन्तुलनमा राखेर चित्त बुझाएर राख्नु हो त्यो गर्न सकेमा मात्र टिममा ‘सार्पनेस’ र ‘वर्क स्प्रीट’ हुन्छ ।
विदेशमा तपाइले त दर्जनौ पाँचतारे र डिलक्स होटलहरुमा काम गरिसक्नुभयो अब फर्किएर नेपालमा बस्ने कुनै योजना छ कि छैन ?
आफ्नो प्यारो गाउँठाउँ छोडेर लामो समयसम्म विदेश बस्ने कसैलाई रहर हुँदैन । म पनि बाध्य भएर मात्र विदेशिएको हो, घर परिवार, साथीभाई र गाउँलेको सधैं याद आइरहन्छ । राम्रो अवसर पाए नेपालमा नै बस्ने सोच छ तर अहिलेको यो स्थितिमा विदेशमै धेरै राम्रा अवसर आइरहेका छन् ।तर यहाँ जेजस्तो मौका आए पनि केही समयपछि भने नेपालमै फर्केर केही गर्ने सोच बनाएको छु ।
सानो उमेरमा यति गहन जिम्मेवारी सम्हालेर काम गरिरहनुभएको छ अलिकति कठिन त होला नि?
म २४ बर्षको उमेरमै सुपरभाइजर लेबल (सेफ डि पार्टी) भएर काम गरिसकेको मान्छे हुँ । शुरुमा त केही कठिन महसुस हुन्थ्यो तर अहिले त धेरै होटल परिवर्तन गरेर धेरै देशमा काम गरेको अनुभव भयो त्यसैले पनि खासै गाह्रो लाग्दैन । मलाई कामले नै काम सिकाएको छ, यसमा गर्व गर्छु ।
तपाईं त कुलिनरीको सर्वोच्च सस्था (वल्र्ड सेफ एसोसिएसन) को निर्णायक पदसम्म पुग्नुभएको छ, युरोपियनहरुको साथमा बसेर काम गर्न र निष्पक्ष निर्णय गर्न सम्भव छ र ?
यो ठाउँमा पुग्ने चाहना मेरो मात्र होइन विश्वभरका सबै सेफहरुको हुन्छ । ढिलै भए पनि यो सफलता चुम्ने मौका पाएकोमा खुशी लाग्छ । सम्भवत पेस्ट्री सेफहरुमा यो निर्णायक पदमा पुग्ने पहिलो नेपाली म नै हुँ । पूर्ण रुपमा वल्ड सेफ एसोसिएसनका सिनियर सेफहरुले तालिम दिने र उहाँहरुकै गाइडलाइन अनुसार काम गर्ने हुँदा खासै गाह्रो हुन्न । अहिलेसम्म सहज रुपमा काम गरिराखेको छु, हरेक वर्ष मलाई युरोप बोलाइन्छ र जान्छु । आफ्नो जिम्मेवारी पूरा गरेर फर्कन्छु ।
विश्वको धेरै देशमा पुगेर एक जिम्मेवार पदमा रहेर काम गर्नुभयो तपाईजस्तो सीप भएको मान्छेलाई नेपालमा पनि राम्रो अवसर छ नि होइन ?
अवसर त धेरै पाएको छु तर पनि मैले विदेशमा जुन स्तरमा बेकरी र पेस्ट्री उत्पादन गरेको छु त्यो नेपालमा गर्न सम्भव छैन जस्तो लाग्छ किनकि पर्याप्त पेस्ट्री र बेकरीलाई चाहिने सामग्री पाइन्न । केही समयपछि नेपालमा पनि विदेशको जस्तो स्तरीय उत्पादन निकाल्न सकिन्छ । विदेशमाधेरै वर्ष काम गरेका सेफहरु अहिले नेपालमा काम गर्न थालेका छन् धेरै इन्टरनेशनल होटलहरु धमाधम खुलेका छन् । स्तरीय सामानहरु महंगै भएता पनि विदेशबाट झिकाउनुपर्ने हुन्छ, जसले होटलको स्तरलाई उकास्न मद्दत पु¥याउँछ ।
नेपाल फर्कनु भएपछि तपाईंको मुख्य योजनाहरु के के हुने छन् ? जागिर खानुहुन्छ कि आफ्नै व्यवसाय?
पहिलो त आफ्नै व्यवसाय गर्ने हो । एउटा राम्रो पेस्ट्री बेकरी स्टुडियो खोलेर दक्ष जनशक्ति उत्पादन गरेर स्वदेश तथा विदेशमा खपत गराउने योजना छ । मैले नेपालका धेरै होटलहरुमा घुमेर बेकरी तथा पेस्ट्रीको स्तर हेरें, खासै राम्रो लागेन शायद सामग्री नपाएर पनि होला । विदेशको तुलनामा नेपालको क्वालिटी अझै पछाडि नै छ ।
तपाई यो सफलताको प्रमुख श्रेय कसलाई दिनुहुन्छ ?
यसमा पहिलो श्रेय त मलाई जन्म दिने आमा बुवालाई नै दिन्छु । उहाँहरुले पढाई लेखाई गराएर यहाँसम्म पुग्ने बनाउनुभयो । मेरा दिदीहरु जसले मलाई धेरै माया गरेर हुर्काउनुभयो अनि यो ठाउँसम्म पुग्नमा मेरो जीवनसंगिनीको पनि ठूलो हात छ साथै मेरा आफन्त र शुभचिन्तक साथीभाइहरु जसले सपोर्ट गरेर मलाई यहाँसम्म पुग्न योग्य बनाइ दिनुभयो ।अनि मेरा जर्मनी र फ्रेन्च सेफहरु प्नि धन्यवादका पात्र छन् जसले मलाई धेरै सीप सिकाएर यहाँसम्मको दक्ष बनाइदिए ।
नेपाली सेफहरुको भविष्य कस्तो देख्नुहुन्छ ? यो पेशामा आउन चाहानेलाई के सल्लाह दिनुहुन्छ ?
नेपालमा पनि धेरै ईन्टरनेशनल होटलहरु खोलेका छन् र खुल्ने क्रममा पनि छन् । नव आगन्तुक सेफहरुको भविष्य राम्रो छ । ईमान्दार, विश्वासी र परिश्रमी हुनु प¥यो । नयाँ नयाँ कुलिनरीका टेर्निङ सेन्टर र होटल मेनेजमेन्ट कलेजहरु खुलेका छन् । राम्रा राम्रा सेफहरु नेपालमै हुनुहुन्छ उहाँहरुबाट पनि धेरै कुरा सिक्नुप¥यो । धेरै विधामा लागेर मन नडुलाई एकै पेशामा दत्तचित्त भएर लाग्नुभयो भने एक सफल सेफ बन्न सकिन्छ । समयको महत्वलाई बुझेर अघि बढ्नु पर्दछ, जुनसुकै पेशामा पनि भविष्य छ । आफू जहाँ र जुन् ठाउँमा भए पनि सिनियरलाई सम्मान र जुनियरलाई माया गर्न कहिले पनि भुल्नु हुँदैन ।