यम घिमिरे
बर्दिया । शान्तिपूर्ण एवम सुरक्षित समाजका लागि हर प्रहर गाँउ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ अगाडी बढेको वर्दिया प्रहरीले सार्वजनिक सुनवाई कार्यकम सम्पन्न गरेको छ। समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत ठाकुर बाबा नगरपालिका वडा नम्बर १ को कार्यालय प्राङ्गण भुरिगाँउमा सो कार्यकम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यकम लाई सम्बोधन गर्दै प्रजिअ प्रेमलाल लामिछाने शान्ति सुरक्षा,विकास,सुशासन प्रवद्र्धनमा वर्दिया प्रहरीले महत्त्वपूर्ण योगदान पुर्याएकोमा प्रसंशा गर्दै कानून कार्यान्वन मा अझ कडाइका साथ प्रस्तुत हुन् निर्देशन दिए। बर्दिया प्रहरी प्रमूख राजेश नाथ बास्तोलाले प्रहरी संगठनको नीति, आदर्श र आदर्श बमोजिम जन मैत्री सेवा दिन मातहतका अधिकारीहरूलाई निर्देशन दिँदै तस्करी, भन्सार छलि, लागू औषध, महिला हिँसा, मानव वेचविखन नियन्त्रणमा शुन्य सहनशीलता अपनाउन निर्देशन दिए। ठाकुरबाबा नगर प्रमुख घन नारायण श्रेष्ठले वर्दिया निकुञ्जका प्राकृतिक स्रोत साधन र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति स्थानीय सरकार मातहत आउनु पर्ने बताउँदै प्रहरी प्रशासनले स्थानीय विकास निर्माणलाई समयमै सम्पन्न गराउन सुरक्षा प्रदान गरी प्रशासनले ठूलो सहयोग पुराएको बताए।
नगर उपप्रमुख कृष्ण कुश्मा थारुले अपराधरहित वर्दिया बनाउन बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको नेतृत्वमा लागू औषध र चोरी तस्करी नियन्त्रण,महिला हिँसा नियन्त्रणमा बर्दिया प्रहरीले सकारात्मक भूमिका खेलेको बताइन्। प्रहरी निरीक्षक लक्ष्मण ओलीले नागरिकलाई २४ घण्टा सुरक्षा दिन प्रहरी तयार रहेको बताउँदै नागरिक पनि वर्दिधरी प्रहरी भएकाले अपराधको सुँइको पाए खबर गर्न आग्रह गरे। ठाकुर बाबा नगर पालिकाका प्रशासकीय अधिकृत चेत प्रसाद उप्रेतीले अपराध अनुसन्धान र रोकथाममा बर्दिया प्रहरीले अभाव,दवाव र प्रभाव मुक्त भई काम गरेको बताए। बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले अध्यक्षता र ठाकुरबाबा नगर प्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यकमको सञ्चालन इलाका प्रहरी कार्यालय भुरीगाँउका प्रहरी निरीक्षक वसन्त पाण्डेले गरेका थिए ।