काठमाडौँ । कोरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयबारे पूर्वराजा ज्ञानेन्द्र समेत चिन्तित भएका छन् । बिहीबार दसैँको अवसरमा शुभकामना दिँदै शाहले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयप्रति चिन्तित बनेका हुन् । उनले सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको निष्कर्ष निकालेका छन् ।
उनले जनता बाँचे मात्र राज्य रहने र राज्य रहे मात्र राजनीति रहने यथार्थप्रति सचेत हुन आग्रह गरेका छन्।
शाहले दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ। संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।’
त्यस्तै उनले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप लगाएका छन्। यसले गर्दा स्थिर, सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको उनको बुझाइ छ।
सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको उनले उल्लेख गरेका छन्।
‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मुल्य बृद्धि अभाव र गुणस्तरीयतामा हास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ,’ शाहले अगाडि भनेका छन्, ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ।